म्याग्दी उद्योग बाणिज्य संघको इतिहास

२०२७ सालमा स्व. श्री चन्द्रशेखर श्रेष्ठ ज्यूको पहलमा व्यापार संघको नाममा स्थापति भै अनेक आरोह र अवरोहहरु पार गर्दै नेपाल उद्योग वाणिज्य महासंघको २०३३ साल बैशाख ८ गते विराटनगरमा सम्पन्‍न वैठकबाट यस संघले विधिवत सदस्यता प्राप्त गरेको थियो भने २०४३ सालमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएको थियो ।

समस्त जिल्लावासी उद्योगी व्यापारीहरुको वृहत्तर हितको लागि सदा समर्पित यस संघले पनि विकास गर्नुपर्छ भन्‍ने मान्यतालाई आत्मसात गर्दै २०६० साल देखि वेनीबजार सरसफाई कार्यक्रम निरन्तर रुपमा सञ्‍चालन गर्दै आई रहेको छ । बाग्लुङ्ग वेनी सडक मर्मत, वेनीबजार क्षेत्रमा पिच तथा ढलको निर्माण, सार्वजनिक शौचालय निर्माण, वेनीबजार क्षेत्रकव सडकचौडा गर्नुका साथै वेनीबजार क्षेत्रमा वितरित विद्युतलाईन तथा दुरसञ्‍चारका लाईनहरुमा सुधार जस्ता कार्यहरु गर्दै आईरहेको छ भने हाल यस संघसंग ६५३ जना स्थायी र अस्थायी साधारण सदस्यहरु छन् । संघको १५ सदस्यीय कार्य समित रहेको  छ भने एक जना मानार्थ सदस्य रहनु भएको छ । कार्यकारीणी समितिको कार्यकाल ३ वर्षको रहेको छ । संघ संग हाल एउटा भवन र छुट्टै एउटा घडेरी रहेको छ । संघको व्यवस्थित सचिवालय रहेको छ भने सचिवालय तर्फ ५ र सरसफाई कार्यक्रम तर्फ ४ गरी जम्मा ९ जना कर्मचारी  कार्यरत रहेका छन् ।ठूला उद्योगहरु नभएको यस जिल्लामा साना तथा घरेलु उद्योगहरु केहीमात्रमा रहेका छन् ।

परम्परागत रुपमा तामा र फलामका भाँडाहरु, कृषि औजारहरु, चोया पोत्राका सामग्रीहरु, काठका ठेकीहरु, मादलहरु, राडि पाखि, भांग्रा, गलैचाहरु, बाँस निगालोका सामाग्रीहरु उत्पादन भै रहेका छन् । अल्लो पुवा र लोकता (नेपाली कागजको लागि) प्रचुरमात्रामा पाईएता पनि १०-१५ प्रतिशत भन्दा बढि निकासी गर्न सकिएको छैन । यार्सागुम्बा, पाँच ‌औले, सतुवा, बोजो, कुरिलो, समलवेद, सोमलता, इन्द्रयाणी, जटामसी, चिराईटो, पाँग्रोगेडा, झयाँउ, टिमुर, सिलटिमुर, टाँकीफुलजरा, दुधियामसी, गामाडोल, सुगन्धवाल, पदमचाल, सतावरी, निरमसी, अतिसजरा, कटुकी, काराज, चुल्ठे, अमलदेखडाँठ, विषजरा जस्ता महत्वपूर्ण जडिबुटिहरु पनि प्रसस्त पाईन्छ। कालीगण्डकीको असला माछा, टिमुरकव छोप, अचार, खाने भाँगो, सुकाएको लेकमा पाईने जंगली रातो च्याउ, रत्‍नेचौरको भुजा र गुन्द्रक यहाँका प्रख्यात लोकल बस्तुहरु हुन्।सुन्तला, कागती, जुनार, आरु यहाँका प्रमुख निकासी हुने फलफूलहरु हुन भने, चालीट्ठ दिने मुला, काउली, केराउ, चमम्सुर, बकुल्ला, चौमासे सिमी, घ्यू सिमी, टमाटर, भक्तपुरे काँक्रो, गहुँ र मकैका विउहरु स्वदेशमा निकासी हुन्छन्। तामा खानी, फलाम खानी, स्लेट ढुंगा खानी, खरीखानी, रातोमाटो खानीहरु अहिले पनि स्थानिय स्तरमा सञ्‍चालित छन् भने शिशा र सुन खानीको पनि सम्भावना रहेको भनाई छ। कालिगण्डकी तिरमा अझै पनि बोटेहरु र मधेसी मूलका मान्छेहरु आई बालुवाको कणलाई चालेर छानेर सुनको धाउ लाने गरेको पाईन्छ । मूल्यवान खानीहरु रहेको यस जिल्लामा सरकारले खानीहरुको स्तर सम्भाव्यता अध्ययन गरी खानी सञ्‍चालनमा ल्याउन सके राष्ट्रले कोल्टो फेर्न केही बेर लाग्छ जस्तो हामीलाई लाग्दैन ।

पर्यटकिय हिसाबले अन्‍नपूर्ण टेकिङ्ग रुट, धौलागिरी हिमाल, विश्‍वको सवै भन्दा गहिरो अन्ध गल्छी, रुप्से छहरा, प्रख्यात तातोपानी कुण्डहरु, विश्‍व प्रसिद्ब लालिगुँरासको जंगल एवं पुनहिल (घोडेपानी), प्रसिद्ब गलेश्‍वर, महारानी, पुलाह्राश्रम क्षेत्रहरु, मुक्तिनाथको प्रवेशद्बार, र्‍याफ्‍टिङ्गको लागि २ (दुई) ठूला कालीगण्डकी र म्याग्दी नदिहरु एवं पर्यटनका अनेकौ सम्भावना बोकेको यस क्षेत्रमा बार्षिक हजारौं विदेशी एवं स्वदेशी पर्यटकहरु र नेपाली धर्मावलम्वीहरु घुम्नमा लागि आउने गर्दछन् भने सयौं र्‍याफ्‍टिङ्ग ग्रुपहश्र कालीगण्डकी नदिमा र्‍याफ्टिङ्गको लागि आउने गर्दछन् ।

लोक दोहोरी र रोदीका लागि मुलुकभर परिचित यस जिल्ला ख्याली, शिरफूले, यानीमायाँका साथै वेनीकोबजार जतामायाँ उतैछ नजर किरेमिरे जाली रुमालको भाकाले पनि मुलुक भर चिनिने गर्छ। गँठेमंगल, गाईजात्रा, नागानगनी, हनुमान, लाखे, जोगी, भोटे, घोडे, रोपाई, शिकारी, थियटर आदी परम्परागत लोक संस्कृतिहरुलाई पनि यहाँका बासिन्दाहरुले जोगाई राखेका छन् भने मगर, गुरुङ्ग, थकाली, बाहुन, क्षेत्री, कामी, दमै, सार्कि, नेवार र छन्त्याल जातिहरुको यस जिल्लामा प्रमुख वसोवास रहँदै आएको छ।

काठमाण्डौंबाट २८१, पोखराबाट ८१, नारायणघाटबाट २०७, भैरहवाबाट २६१, हेटौंडाबाट २८४, जनकपुरबाट ४१२, इटहरीबाट ५६३ र विर्तामोडबाट ६५६ किलोमिटर टाढा रहेको यस जिल्ला सम्म पुग्न पोखराबाट उत्तर लागे पछि पर्वत र वाग्लुङ्ग जिल्ला हुँदै पर्वतको मालढुंगाबाट कालिगण्डकीको तिरैतिर १४ कि.मि. र वाग्लुङ्गबाट १८ कि.मि. लाग्ने दुई बाटो भएर म्याग्दी जिल्लाको सदरमुकाम वेनीबजारसम्म पुग्न सकिन्छ ।