बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक उपचार केन्द्र तातोपानीका बारेमा नेपालका विभिन्न जिल्लामा प्रचारप्रसाका लागि कुण्ड ब्यवस्थापन समितिको टोली मंगलबार भ्रमणमा निस्किएको छ । कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको नेतृत्वमा वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल सहित १८ जनाको टोलीले विभिन्न जिल्लामा रहेका तातोपानी कुण्डको अवलोकन सहित म्याग्दीमा रहेको कुण्डका बारेमा प्रचारप्रसार सहित भ्रमणका लागि समेत अनुरोध समेत गरेको समितिका सहसचिव कुमार केसीले बताए ।

कास्कीको घान्दु्रक झिनोडाँडाँ तातोपानी कुण्डको अवलोकनको क्रममा स्थानीयले कुण्डको ब्यवस्थापन, स्थानीयको सक्रियता लगाएत विभिन्न पक्षमा जानकारी लिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए । ‘म्याग्दीको कुण्डका बारेमा धेरैलाई जानकारी रहेछ, उहाँहरुलाई एकपटक भ्रमणका लागि अनुरोध गरेका छौ’ शाक्यले भने। उनका अनुसार भ्रमणको क्रममा तातोपानी कुण्डको ब्यवस्थापनमा स्थानीयको सक्रियता र म्याग्दीले समेत सिक्न सक्ने सम्भावनाहरुलाई समेत मध्यनजर गरिएको बताए ।

भ्रमणको क्रममा सिंगा तातोपानी कुण्डबाट विभिन्न रोगको उपचार सहित कुण्डको आम्दानीबाट सामुदायिक क्षेत्रमा गरिएको सहयोगका बारेमा समेत अनुभव आदान प्रदान गरिएको बताइएको छ । वडा अध्यक्ष पौडेल सहितका गएको टोलीले म्याग्दी भ्रमण बर्ष मनाइरहेको जानकारी दिदैं यसैबर्ष एकपटक म्याग्दीको भ्रमणका लागि आउन समेत अनुरोध गरेका थिए । भ्रमणको क्रममा पोखराको भुर्जुङखोलाको खारपानी तातोपानी, लम्जुङ, रसुवासम्म अवलोकन सहित प्रचारप्रसार गर्ने टोलीले जनाएको छ ।

तातोपानी कुण्ड विरामीसंगै देशभित्रका पर्यटकलाई समेत आर्कषित गर्न सक्ने भएकाले पनि भ्रमणमा प्रचारप्रसारलाई पहिलो प्राथमिकता दिइएको छ । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रमम निस्कने विरेनुन स्वादको तातोपानीको ब्यवस्थापनका बारेमा चासो लिएकाले भ्रमणले जिल्लामा पर्यटक भित्राउन सघाउने भ्रमण टोलीको भनाई छ । समान्य पोखरीलाई संरक्षण गरेको कुण्डमा अहिले बर्षेनी २० हजारको हाराहारीमा स्नान गर्ने गरेका छन् ।

जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । कुण्डको गन्ध आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएकाले पनि विरामीको चाप बढ्दै जान थालेको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका विरामी पुग्ने गरेका छन् । भ्रमण टोलीले म्याग्दी भ्रमण बर्षका बारेमा समेत ठाउँठाउँमा जानकारी गराइरहेको छ।