प्राकृतिक र धार्मिक पर्यटनको दृष्टिकोणमा सम्भाबनायुक्त स्थल ‘टोड्केको डाँडो’ समुन्द्री सतहदेखि २ हजार ३८० मिटरको उचाईमा अबस्थित छ ।


मंगला गाउँपालिको पुर्णगाउँ , रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतको सिमा क्षेत्रमा पर्ने टोड्के मनोरम हिमश्रृखलाको दृष्यावलोकन गर्ने उपयुक्त स्थान मानिन्छ ।

सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत दुई घण्टामा पुग्न सकिने सुविधासँगै टोड्केको विशेषताको प्रचारप्रसार हुन थालेकाले पर्यटक आगमन बढेको छ । हाल टोड्केमा सवारीसाधनको प्रयोगका साथै पदयात्रा गरेर वनभोज र भ्रमणका लागि मासिक धेरै पर्यटकहरु पुग्ने गरेका छन् ।

फागुनदेखि चैत महिनासम्म लालीगुराँसले मोहनी लगाउने टोड्के मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्ने उपयुक्त स्थान पनि हो। एकै ठाउँबाट धौलागिरी, अन्नपूर्ण, माछापूच्छ्रे गणेश ,गुर्जा लगायतका हिमालको मनोरम दृष्य संगै म्याग्दी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न पाउनु टोड्के क्षेत्रको विषेशता हो । रङ्गीचङ्गी गुराँसे जंगल, सुर्योदय, पहाडी भुगोलले टोड्के क्षेत्र सम्भावनायुक्त ठाँउ हो ।

टोड्केको भ्रमण गर्न आउने पर्यटकको सुविधाका लागि नजिकैको पूर्णगाउँका २५ घरमा हालै होमस्टे सेवा सुरु गरिएको छ । स्थानीयवासीले टोड्के क्षेत्र विकास कोष गठन गरेर सो स्थानको प्राकृतिक, पर्यटकीय, धार्मिक, ऐतिहासिक र सांस्कृतिक विशेषताकबारे प्रचारप्रसार गर्न थालेका छन् । झिँ हुँदै टोड्के जोड्ने दुई हजार २०० मिटर पक्की पदमार्ग निर्माण भएको छ ।