म्याग्दी जिल्लामा रहेको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारका रुपमा चिनिन्छ ।

जमिनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नसा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ। कुण्डको पानीबाट बिरेनुनको गन्ध आउँछ।

कुण्ड व्यवस्थापन समितिका अनुसार ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी यहाँ आउने गरेका हुन्। कुण्ड क्षेत्रमा साना—ठूला तीन कुण्ड छन्। कुण्डमा एकपटकमा तीन सय जनाले डुबुल्की मार्न सक्छन्।

कुण्डमा दैनिक पाँच सयदेखि एक हजार जनासम्मले स्नान गर्दै आएका छन्। खास गरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ। नुहाउनका लागि १ सय ५० रुपियाँको टिकट काट्नुपर्छ। कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट नौ किलो मिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ भने काठमाडौँबाट २ सय ९७ किलोमिटर टाढा पर्छ।