बेनी नगरपालिका–५ गाजनेमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर । वि.सं. १५५० सालमा राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किम्बदन्ती रहेको छ । पश्चिमाञ्चलमै उत्कृष्ट मानिने आजभन्दा ५ सय २४ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्बमहाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका ऐतिहासिक मूर्तिहरु रहेका छन् ।

समुन्द्री सतहदेखि झण्डै २ हजार भन्दाबढी उचाइमा अवस्थित जगन्नाथ मन्दिरमा म्याग्दीसहित विभिन्न जिल्लाबाट दैनिकजसो श्रद्धालु भक्तजनहरु पुजाआजाका लागि आउने गरेका छन् । मन्दिरमा पूजारी राखेर पुजा गर्ने व्यवस्था समितिद्वारा मिलाइएको छ । जगन्नाथ मन्दिरनजिकै गुफाको डाँडो रहेको छ भने त्यहाँबाट म्याग्दी जिल्लाका ३६ ओटा गाविससहित मनोरम हिमश्रृङ्खलाहरु नाङ्गो आँखाले प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।