म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ ।

पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको यो धाम मुक्तिद्वारको नामबाट पनि चिनिन्छ ।

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

१९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको हो ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन् ।

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।

यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीयको माग रहेको छ ।

 

थप जानकारी यो PDF मा