भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा बाहैमासा चिसो हावा चल्छ ।गर्मी महिनामा पनि जाडोयामको चिसो हावापानी चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला आँखामा ठोकिन्छन् ।

हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिकालाई जिल्लाकै आर्कषक गन्तब्य बन्न थालेको छ ।आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामिण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यताले सजिएको मालिका प्राकृतिक दृष्यको धनी, धार्मिक दृष्टिले प्रसिद्ध कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करिव साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिक संगै पदयात्राका लागि समेत सुन्दर गन्तब्यको रुपमा विकास गर्न सकिन्छ ।जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भुभाग, चराचुरुङी र बन्यजन्तुको आवाज, बहुमल्य जडिबुटीको बास्ना लिदैं मालिका धुरी पुग्दा थकित भएपनि आनन्द महसुस हुन्छ।

जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा बर्षेनी हजारौं दर्शनार्थी दर्शका लागि पुग्ने गर्दछन् ।सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको ब्यापाक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्राउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमश्रंखलाको तुलनामा धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।

हिमाल र प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि हजारौं सम्भावना बोकेको मालिकालाई जिल्लाको आर्कषक गन्तब्यको रुपमा राख्नुपर्नेमा स्थानीयको भनाईलाई गलत सावित गर्न सक्ने आधार समेत खोज्न मुस्किल देखिन्छ । सयौं बर्ष अगाडी देखी धार्मिक गन्तब्यका रुपमा अगाडी बढेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिकलाई सजिलै आर्कषित गरेपनि विदेशी पर्यटकलाई आर्कषित गर्न सक्ने पर्यटन ब्यवसायीको बाबुराम आचार्यले बताए । ‘हिमाल हेर्न आउनेलाई मालिकासम्म पुग्ने वातावरण बनाउनुपर्छ,‘ त्यहाँ हिमालभन्दा अग्ला मान्छे हुन्छन्’ आचार्यले भने ।

उनले सुनसान पदमार्गमा रमाउन चाहने पर्यटकलाई मालिकाको विकल्प नभएको बताउँदै पश्चिम म्याग्दी जोड्ने पदमार्गमा समेत मालिकालाई समावेश गरिएको बताए । सदरमुकाम बेनीबाट पैदलयात्रा हुदै मालिका मन्दिरसम्म पुग्न चाहनेलाई समेत बेनी–अर्थुङ्गे–पुलाआश्रम– जगन्नाथ–टोड्के हुदै मालिकासम्म जाने पदमार्गको निर्माणकार्य समेत भइरहेको छ भने पुरानो संरचनाबाट समेत सहजै आवतजावत गर्न सकिन्छ ।

त्यस्तै रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै मालिका पुग्न सकिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष झकप्रसाद पाईजाले बेनीअनलाइनलाई बताए । मन्दिरको चारैतिरबाट पुग्न सकिने मन्दिरमा बस्ने सत्तल सहितका संरचना समेत बनेका छन् । एकैपटक सयौं दर्शनार्थी पुग्ने मन्दिर आसपासका क्षेत्रमा रहेका ओडारमा समेत रात विताउने गरिन्छ । म्याग्दी भ्रमण बर्षमा समेत मालिकालाई ब्यापक प्रचारप्रसार गरिने छ । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा रहेको मन्दीरमा हरेक वर्ष तीनपटक पुजा गरिन्छ ।